नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय (चितवन) ले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत छ।
स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने छन्।
अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो।
पक्राउ परेका उनीहरुलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।